मनसुनको प्रभाव : चट्याङसहित मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको छ भने उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको समेत प्रभाव यस क्षेत्रमा परिरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका धेरै स्थानमा र तराई भू-भागका केही स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ।
यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
त्यस्तै, आज राति पनि देशभर साधारणतया बदली कायम रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा र अन्य प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना औंल्याइएको छ।
मधेस प्रदेश र कोशी प्रदेशका तराई भू-भागका केही स्थान तथा अन्य केही प्रदेशका तराई क्षेत्रमा समेत मध्यम वर्षाको आकलन गरिएको छ भने कोशी प्रदेशको पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना बाँकी रहेको छ।
