आज बिहीबार दिउँसोसम्म १२५२ जनाको शव फेला

काठमाडौं ।  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार २ बजेसम्म एक हजार दुई सय ५२ जनाको शव फेला परेको छ ।

जसमध्ये रसुवामा एक सय २७ जना, नुवाकोटमा एक सय ७७ जना, धादिङमा ६० जना, चितवनमा तीन सय ५५ जना, गोरखामा ६९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा दुई सय १८ जना र नवलपरासी पश्‍चिम एक सय ९० जना र भारतमा भेटिएको (नवलपरासी पश्‍चिममा बुझाएको) १८ गरी एक हजार दुई सय ५२ जनाको शव फेला परेको हो । ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ ।

फेला परेका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म दुई सय १३ महिला, तीन सय १४ पुरूष र तीन सय ७० नखुलेको गरी जम्मा आठ सय ९७ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । साथै पहिचान नभएको ९ सय ६० वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म सात हजार नौ सय १२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका चार हजार आठ सय ७५ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा तीन हजार एक सय तीन जना व्यक्तिहरूलाई राखिएको छ ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर