तीन हिमालबाट ११ हजार किलो फोहोर संकलन

काठमाडौं । नेपाली सेनाको सफा हिमाल अभियानबाट यस वर्ष तीन वटा हिमालबाट ११ हजार किलो फोहोर संकलन भएको छ। गत चैत २९ गतेदेखि सुरू भएको सफा हिमाल अभियान, २०२४ जेठ २३ गते सम्पन्न भएको हो।

यस वर्ष सगरमाथा, ल्होत्से र नुप्त्से हिमालको सफाइ गरेको थियो। यी हिमालबाट १० हजार किलो फोहोर र ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिएको थियो। त्यस लक्ष्य अनुसार ११ हजार किलो फोहोर, ४ वटा शव र एक मानव अस्थिपञ्जर संकलन भएको नेपाली सेनाको जंगी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। संकलन गरिएका फोहोरहरूमध्ये २ हजार २२६ किलो फोहोर कुहिने खालका थिए। ती फोहोरलाई सफाइ अभियानमा गएको टोलीले सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) लाई बुझाएको छ। त्यसैगरी नकुहिने फोहोर ८ हजार ७७४ किलो थियो। ती फोहोरको व्‍यवस्‍थापन गर्न एभ्नी भेन्चर प्रालिलाई बुझाएको छ।

यस वर्ष हिमाल सफा गर्न अभियानको नेतृत्व सेनानी आदित्य कार्कीले गरेका थिए। अभियान सकिएसँगै बुधबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा उनले अभियानको झण्डा सेनाका प्रधान सेनापति प्रभुराम शर्मालाई हस्तान्तरण समेत गरेका गिए। सफाइका लागि १२ जना सैनिक र एक जना शर्पासहित १३ जनाको टोली गएको थियो। बुधबार अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले हिमालहरूमा फोहोर नै हुन नदिनका लागि विद्यमान नीति नियमहरूको कडाइका साथ पालना हुनुपर्ने बताएका थिए। उनले नेपाली सेनाले मात्र यस प्रकारको अभियानलाई पूर्णता दिन नसक्ने हुँदा केन्द्रदेखि जनस्तरसम्म चेतना अभिवृद्धि गर्न सरोकारवाला निकायका साथै सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहने बताएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर