नेपालीको सरदर आयुमा उल्लेख्य सुधार
काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को जनसांख्यिक सूचक प्रतिवेदनले नेपालीको सरदर आयुमा उल्लेख्य सुधार भएको देखाएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार, पुरुषको औसत आयु ६८.२ वर्ष र महिलाको औसत आयु ७३.८ वर्ष छ। यसले पुरुषको तुलनामा महिलाको सरदर आयु झण्डै पाँच वर्ष बढी देखाएको छ। कुनै व्यक्तिको औसत बाँच्ने अवधिलाई औसत आयु मानिन्छ।
प्रतिवेदनका अनुसार सर्वाधिक धेरै औसत आयु कर्णाली प्रदेशमा ७२.५ वर्ष छ। बागमती प्रदेशमा सरदर आयु ७२.४ वर्ष छ। सबैभन्दा कम लुम्बिनी प्रदेशमा ६९.५ वर्ष मात्रै औसत आयु छ। पछिल्ला दशकमा नेपालले उल्लेख्य प्रगति गरेको क्षेत्र औसत आयुको वृद्धि पनि एक हो। एक दशकअघि २०६८ सालमा नेपालीको औसत आयु ६६.६ वर्ष मात्रै थियो। २०५८ सालमा औसत आयु ६०.४ वर्ष थियो। २०४८ सालमा यो ५४.३ वर्ष मात्रै थियो। २०३८ सालमा नेपालीको औसत आयु ४९.८ वर्ष थियो।
