मौसम : आंशिकदेखि साधारणतया बदली रहने
काठमाडौं । आज काठमाडौं उपत्यकासहित कोशी प्रदेश र देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसकारण आज कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। बेलुका देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।
