गोपाल ढकालको हत्यामा संलग्न व्यक्ति सार्वजनिक
काठमाडौं । भक्तपुरमा फागुन ११ गते मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा संलग्न भक्तपुरका २९ वर्षका सन्तोष सुवाललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
फागुन १० गते जिल्ला तेह्रथुमका छथर गाउँपालिका –२ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा ८ बस्ने वर्ष ३३ को गोपाल ढकालकी श्रीमती रेणु ढकालले आफ्नो श्रीमान हराएको र श्रीमान चाहिए सूर्यविनायक जङ्गलमा दुई लाख लिई आउनु भनी आफूलाई फोन आएको भनी प्रहरी वृत्त जगातीमा उजुरी दिएकी थिइन् । प्रहरीले अनुसन्धान गर्ने क्रममा ११ गते भक्तपुर सूर्यविनायक नगरपालिका ८ स्थित रोदन बस्नेतको गोठमा गोपालप्रसाद ढकाल मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
परिसरका प्रहरी निरीक्षक निर्मल थापाले घटनामा संलग्न जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका –६ का वर्ष २९ को सन्तोष सुवाल रहेको बताए । खोजतलासका क्रममा शनिवार निजलाई काभ्रपलाञ्चोक मण्डनदेउपुर –६ मा पक्राउ गरिएको बताए । घटनाको अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न भक्तपुर चाँगुनारायण नगरपालिका –६ का प्रेमबहादुर सुवालको छोरा वर्ष २९ को सन्तोष सुवाल रहेको भन्ने कुरा सुन्नमा आएपछि खोजतलासका क्रममा शनिवार निजलाई काभ्रपलाञ्चोक मण्डनदेउपुर –६ बाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
उनी बाइक मेकानिकको काम गर्दैआएका थिए । उनको साथबाट मृतकको मोबाइल र फोटोमा देखिएको ज्याकेट बरामद गरेको प्रहरीले जनाएको छ । यसअघि चोरीसम्बन्धी कसुरमा २०७८ मा मुद्दा चलेको र २०७५ मा अभद्र व्यवहारको मुद्दा उनीमाथि चलेको थियो ।
यसैबीच एक अर्को समाचार अनुसार प्रहरीले सामाजिक सञ्जालबाट विभिन्न प्रलोभन देखाएर करिब ५० लाख ठगी गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको विष्णु गाउँपालिका –४ घर भई पुरानो बानेश्वर काठमाडौं बस्ने २१ वर्षीय आदित्यकुमार सिंह, सोही ठाउँका २० वर्षीय सिद्धार्थकुमार सिंह छन् । यस्तै, बारा कलैया उपमहानगर ११ घर भई भक्तपुर गट्ठाघर बस्ने २२ वर्षका रामसेवक राम र पर्सा वीरगञ्ज १५ घर भई गट्ठाघर भक्तपुर बस्ने २४ वर्षका आकाश साह सोनारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले सामाजिक सञ्जालमा नक्कली अकाउन्ट बनाएर महँगो ब्राण्डका मोबाइल सस्तोमा दिने, आकर्षक तलबमा विदेश पठाउनेलगायतका प्रलोभन देखाएर ४९ लाख ५८ हजार ८ सय रकम ठगेको प्रहरीले जनाएको छ ।
