इद पर्व नेपाली समाज र सांस्कृतिक विविधताको परिचायक

काठमाडौं । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले मुस्लिम समुदायको इद उल फित्र पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन् ।

इदका अवसरमा शनिबार शुभकामना दिँदै उनले मुस्लिम समुदायको बसोबास रहेका सबैजसो भागमा मनाइने इद पर्व नेपाली समाज र सांस्कृतिक विविधताको परिचायकको रूपमा समेत रहेको जनाए ।

इदलाई मुस्लिम समुदायले आपसी रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसीयाली सद्भाव र शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरेको स्मरण गर्दै उहाँले विशेष नमाज पढी सकेपछि आफूभन्दा ठूलाबडाबाट आशिर्वाद लिने र आफूभन्दा सानालाई आशिर्वाद दिँदै मिष्ठान्न एवं स्वादिष्ट परिकार खाने र खुवाउने परम्परा यस पर्वमा रहेको स्मरण गरे ।

उनले यस पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वर्द्धन र विकासका साथै राष्ट्रिय सद्भाव र एकता प्रवर्द्धनसमेतमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

सामाजिक, धार्मिक एवं सांस्कृतिक विविधताबीचको एकताले नै नेपाली राष्ट्रियतालाई मजबुत बनाउनेमा आफू विश्वस्त रहेको जनाउँदै कार्यवाहक राष्ट्रपति यादवले यस पर्वबाट राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ भई सभ्य, समुन्नत र समृद्ध समाज निर्माण गर्न थप प्रेरणा प्रदान मिलोस् भनी कामना गरे ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्लिम समुदायको इद (इदुल फित्र) पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन् ।

इदको अवसरमा आज शुभकामना दिँदै उनले ईद इस्लाम समुदायको सबैभन्दा ठूलो एवं महत्वपूर्ण पर्व भएको र मुस्लिम समुदायले यस पर्वलाई आपसी सद्भाव, सहकार्य, विश्वास एवं साझा उद्देश्य प्राप्तिको महत्वपूर्ण अवसरका रूपमा मनाउँदै आएको बताए ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति ईदलगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

शुभकामना सन्देशमा प्रधानमन्त्रीले हरेक चाडपर्वहरूको आफ्नो ऐतिहासिकता र विशिष्ट महत्व हुने गर्दछ, मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्य प्रक्रियाबाट नै चाडपर्वहरू विकसित र स्थापित हुँदै आएका पनि बताए ।

ईद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत् बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा मिल्ने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर